यातायात कार्यालयको ४७ कराेड भ्रष्टाचार गर्नेको घरमै डिस्काे, १३ लाख महिनाको कमाई, अरब सम्पति
कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यालयको ४७ करोड राजश्व हिनामिना गर्ने मुख्य अभियुक्त लेखापाल सुरेश अधिकारीको चर्चा अहिले चुलिएको छ ।
एउटा सरकारी कार्यालयको लेखापालजस्तो सामान्य पदमा रहेर पनि विलासी जीवनशैली बाँच्ने थोरै भाग्यमानीमा पर्छन् उनी । उनको पदअनुसार सरकारले दिने तलबले उनको त्यो जीवनशैली बाँच्न असम्भव हो । पुख्र्यौली सम्पत्ती’ नखुलेपनि उनको कमाइ नै उनलाई देशको मन्त्रीभन्दा उत्कृष्ठ जीवन बाँच्न पर्याप्त थियो ।
अधिकारीसहितको कर्मचारी समुहले नेता, बैंकलाई प्रभावमा पारेर तीन वर्षमा ४७ करोड रुपैया हिनामिना गर्यो । त्यो भनेको महिनाको एक करोड ३० लाख रुपैया हाराहारी हो । १० जनाले भाग लगाउँदा पनि एक जनाको भागमा १३ लाख रुपैया पथ्र्यो । महिनामा ३० हजार रुपैया तलब नपाउने अधिकारीले महिनाको १३ लाख रुपैया कमाउँथे । त्यो भनेको घण्टाको सात हजार रुपैयाभन्दा बढी थियो । इमान्दारीतापूर्वक कमाएर जीवनभर एउटा घर मुस्किलले जोड्न सक्ने हजारौं सरकारी कर्मचारीहरुभन्दा उनी अब्बल निस्के । उनीसँग अरब भन्दा बढिको सम्पती रहेको देखिएको छ । उनको इटहरी, काठमाडौ तथा विराटनगरमा घर छ । कति घर छन्, यकिन छैन, तर ती घरहरु उनले अर्कैको नाममा राखेको बताइन्छ ।उनकी श्रीमती नै तीन वटी छन् । जसमध्ये एक सुजु क्षेत्री हुन् । जो अधिकारीसँगै इटहरीमा बस्छिन् । तीन वटा बिहे गरेपनि उनले विवाह दर्ता भने कसैसँग नगरेको बताइन्छ । तथापी अनुसन्धान गर्न बाँकी छ । ‘पछि छानविन हुँदा श्रीमती र सम्पत्ती खोजबिन हुन्छ भनेर बिहे दर्ता नभएको होला,’ स्रोत बताउँछ । उनी घरको सबै सामान लिएर ६ गते नै काठमाडौ गइसकेको जानकारी प्राप्त भएको छ ।
उनी गाडी मात्र एक करोड माथि पर्ने चढ्दै आएका छन् । टोयटाको फच्र्युनर गाडी चढ्ने गरेका उनको गाडी पनि हेटौंडाका अर्कै व्यापारीको नाममा दर्ता रहेको बताइएकोछ । व्यापारीदेखि उच्च तहका नेतालाई समेत पाल्दै आएका अधिकारीले योजनाबद्ध रुपमा भ्रष्टाचार गरेको देखिएको छ । यहाँसम्म कि महँगो मोबाइल बोक्ने उनको फेसबुक एकाउण्टसमेत छैन । इटहरीस्थित यातायात कार्यालयलाई तीन वर्षसम्म लैनो गाई झै दुहेर उठेको राजस्व कुम्ल्याउने उनी अहिले इटहरीबाट फरार छन् । इटहरीस्थित इटहरी आवास क्षेत्रमा सबैभन्दा आकर्षक घरमा बस्ने उनी आजकाल त्यहाँ भेटिँदैनन् । घरभित्रै डान्सबार र डिस्को भएपनि घटना सार्वजनिक भएको दिनदेखि घरमा बत्ति नबलेको छिमेकीहरु बताउँछन् ।
दुई तिरबाट छानविन
यातायात व्यवस्था कार्यालय (सवारी) कोशीमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । केही दिनअघि कागजपत्र नियन्त्रणमा लिएको अख्तियारले छानविन थालेको अख्तियारको इटहरी कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
कर्मचारीहरुको संलग्नतामा तीन वर्षयता ४७ करोड रुपैया राजस्व हिनामिना भएको पाइएपछि तीन वर्षयताका सबै कार्यालय प्रमुख, लेखा अधिकृत, लेखापाल र राजश्वका सुब्बालाई छानविनमा तान्ने तयारी गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी कोसीमा छ महिना अघि मात्रै कार्यालय प्रमुख भएर आएका नयराज नेपाल, तीन वर्षदेखि कार्यरत् लेखा अधिकृत टिकाराम अधिकारी, अर्का लेखापाल टिका बाँस्तोला र भर्खरै मात्र कार्यालयमा हाजिर भएका रुद्र दहाल भने भर्खरै मात्र कार्यालयमा हाजिर भएका हुन् । यी सबै कर्मचारीमाथि अख्तियारको टंगाल कार्यालयले छानविन अघि बढाइसकेकोछ ।
ब्लास्ट खबर बाट |
Comments
Post a Comment