‘अक्षय तीन खानभन्दा ठूला एक्टर’
उनी हुन त बलिउडका नायक हुन्, त्यो पनि सफल । तर, धेरैजसोले उनलाई सञ्जय दत्तपछिको अर्को खलनायक जस्तो मान्ने गर्छन् । यस्तोचाहिँ उनको स्पष्टवादिताका कारण हुने गरेको हो । अरूलाई नगन्ने स्वभावका सलमान खान योपालि चाहिँँ बडो उदारतापूर्वक प्रस्तुत भएका छन् । त्यो पनि अर्काको गुणगान गाउनमा ।
भारतको एउटा अनलाइनसँगको कुराकानीमा बलिउडमा सुपर स्टारडम कसको होला भन्ने प्रश्नमा उनले भनेका छन्, ‘मान्छेहरू आमिर खान, शाहरूख खान, म र अक्षय कुमारलाई सुपरस्टार भन्ने गर्छन् । हामी थोरै फिल्म खेल्ने गर्छौं । म प्रत्येक वर्ष दुइटा फिल्म गर्छु, आमिर तीन वर्षमा एउटा फिल्म खेल्छन्, अक्षय एक वर्षमै चार–पाँचवटा फिल्म ल्याउने गर्छन् । अब आफैं हिसाब गर्नुस् । त्यति खटेर काम गर्दै अथाह पैसा कमाउने मान्छे, जसले प्रत्येक तीन–चार महिनामा कैयौं प्रोडक्सन कम्पनी र निर्देशकहरूलाई सहयोग गर्ने गरेको छ, सुपरस्टार उही हो । अर्थात्, अक्षय ।’
तर, अक्षयको भन्दा सलमानको फयान फलोइङ गजबको छ । वर्षमा दुइटा फिल्म मात्र रिलिज हुने गर्नाले सलमानका हकमा यस्तो भएको त होइन ? ‘कम्ती फिल्म आउँदैमा बढी दर्शकले हेर्छन् भन्ने हुन्न,’ सलमान भन्छन्, ‘तपाईं सक्नुहुन्छ भने प्रत्येक दुई महिनामा एउटा फिल्म रिलिज गर्नुस्, राम्रो भयो भने दर्शकहरू ओइरिइहाल्छन् नि । दुई महिना भनेको साठी दिन हो । लामो अवधि हुुन्छ दुई महिना पनि । तर, अघिल्लो फिल्मभन्दा पछिल्लो राम्रो हुनैपर्छ । नत्र दर्शकले किन हेर्छन् र ? मेरो सोचाइचाहिँ यस्तो छ । त्यही भएर वर्षमा दुइटा फिल्म गर्ने गरेको हुँ । अर्कोपालिदेखि चाहिँ वर्षमा तीनटा खेल्छु होला । पहिलेपहिले एउटा फिल्म खेलेबापत चार–पाँच लाख पाइन्थ्यो, तर धेरै फिल्म खेलिन्थ्यो । अचेल एउटै खेल्दा करोडौँ कमाइन्छ, फिल्म पनि धेरै खेल्नुपर्यो नि, अक्षयले जस्तै ।’
Comments
Post a Comment